स्थायी शिक्षकको रूपमा शिक्षण पेसा सुरु गरेको एक दशक पुग्नै लाग्दा मनमा अनौठो डर उत्पन्न भएको छ।सेवा प्रवेश गर्दा यस्ता समस्या पनि भोग्नु पर्ने हुन सक्छ भनेर कल्पना पनि गरेको थिइन। हामीले शिक्षण सुरु गर्दाको समय र अहिलेको समयमा धेरै नै परिवर्तन आएको छ।परिवर्तन स्वाभाविक प्रक्रिया भए पनि बालबालिकाको स्वभावमा आएका परिवर्तनहरू अस्वाभाविक र अकल्पनीय देखिन्छन्।यो लेखले शिक्षक तथा अभिभावकहरूमा झनै त्रासको वातावरण सिर्जना गर्ने त होइन भन्ने प्रश्न पनि मनमा उठिरहेका छन्।यद्यपि एक जना शिक्षकको रूपमा यति समय बिताइसकेको र लामो समयदेखि विद्यालयको प्रशासनिक नेतृत्वको अनुभवलाई समेटेर यो महत्त्वपूर्ण विषयमा चर्चा गर्ने प्रयास गरेको छु।
केही
समयअघि मेरो आफ्नै विद्यालयका कक्षा ६ र कक्षा ८ मा पढ्ने दुई जना होनहार विद्यार्थीहरूले ज्यान गुमाए। यो खबर सुन्दा मनमा
जुन पीडा र छटपटी भयो, शब्दमा व्यक्त
गर्न सम्भव नहोला। केवल मोबाइल चलाउन नपाएको वा परिवारमा सानो
खटपट भएको निहुँमा जीवन नै त्याग्ने यो प्रवृत्तिले हाम्रो
समाज कता जाँदै छ भन्ने एउटा भयानक दृश्य प्रस्तुत गरेको छ। आखिर किन हाम्रा बालबालिकाहरू यति कमजोर र आवेग प्रेरित बन्दै छन् भन्ने
प्रश्न धेरैको मनमा उठिरहेको होला।यसै सन्दर्भमा,वर्तमान समयमा देखिएको भयावह अवस्थाका विषयमा यहाँ चर्चा गर्ने प्रयास गरिएको छ।
*आत्महत्या*को भयावह चित्र
नेपाल
प्रहरीको आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क हेर्ने हो भने वर्षभरिमा ७,२२१ जनाले *आत्महत्या* गरेका छन्, जसमा उल्लेख्य सङ्ख्या बालबालिका र किशोर किशोरीको छ।नेपालमा मात्र नभएर
छिमेकी देश भारतमा पनि कोभिड-१९ पछिको समयमा
अस्वाभाविक रूपमा *आत्महत्या* गर्नेको सङ्ख्या बढिरहेको छ।औसतमा दैनिक २८ जना विद्यार्थीहरूले आत्महत्याको बाटो रोज्नु
आफैमा डरलाग्दो परिदृश्य हो।भारतीय मनोचिकित्सक
डा. निरजा पाण्डेका अनुसार बालबालिकाहरूमा तनाव व्यवस्थापन
तथा मानवीय संवेग नियन्त्रणको विषय अहिलेको अवस्थामा सबैभन्दा जोखिमपूर्ण स्थितिमा छ।तत्कालीन आवेशका कारण धेरैले
ज्यान गुमाइरहेको उनको बुझाइ छ।नेपालको
सन्दर्भमा प्रविधिको बढ्दो प्रयोगलाई *आत्महत्या*को प्रमुख कारणहरू मध्ये एक मानिएको छ।नागरिक दैनिकमा प्रकाशित लेखमा
प्रेमनारायण भुसाल भन्छन्, “अहिलेका बालबालिकाहरू मोबाइलमा समय बिताउन
मन पराउँछन्।बालबालिका मात्रै होइन प्रौढहरू
समेत प्रविधिको लतमा छन्।जसका कारण परिवारमा एकर्काका
भावना साटासाट गर्ने वातावरण बिस्तारै हराउँदै गएको छ।परिणामस्वरूप बालबालिकाहरू परिवारको भन्दा इन्टरनेटमा भेटिने
पात्रहरूसँग नजिकिन पुगेका छन्”। मनोचिकित्सक डा. रवि शाक्यले एउटा अन्तर्वातामा भन्नु भएको छ, “बालबालिकालाई सानैदेखि मोबाइलको लत लाग्दा उनीहरूमा धीरता हराउँदै गएको
छ। मोबाइल खोस्दा उनीहरूमा देखिने withdrawal symptoms लागु औषध प्रयोगकर्ताको
जस्तै हुन्छ। उनीहरूले तत्कालको रिसलाई नियन्त्रण गर्न सक्दैनन् र क्षणिक आवेगमा प्राण त्याग्छन्"।
'कपीक्याट' सुसाइडको
प्रभाव
सामान्य
बुझाइमा प्रविधिले दुनियाँलाई जोड्नुपर्ने हो।सामाजिक सञ्जालले त हामीलाई झनै नजिक बनाउनु पर्ने हो।केही हदसम्म यस्तै भएको
पनि होला।तर आजकल सामाजिक सञ्जाल र मिडियामा *आत्महत्या*का
समाचारहरू अतिरञ्जित भएर आउँछन्।विषेश गरी YouTube मा आउने
सामाग्रीहरूमा प्रयोगकर्ताहरूको ध्यान तान्नका लागि
यस्ता समाचारहरूलाई सनसनीपूर्ण बनाएर प्रस्तुत गरिन्छ। समाज शास्त्री डेभिड फिलिप्सले यसलाई 'कपीक्याट सुसाइड' भनेका छन्। जब एउटा बच्चाले *आत्महत्या* गरेको समाचार आउँछ, तनावमा रहेको अर्को बच्चालाई "मलाई गाह्रो हुँदा यो पनि एउटा सजिलो बाटो रहेछ" भन्ने भ्रम पर्छ।
समाचारले सचेतनाभन्दा बढी
उक्साहट पैदा गरिरहेको त छैन
भन्ने प्रश्न टड्कारो छ।हामीले कसैको *आत्महत्या* पश्चात सामाजिक सञ्जालमा व्यक्त गर्ने श्रद्धाञ्जलीलाई कुनै उत्सव जस्तो गरी प्रस्तुत गरिरहेका त छैनौँ
भन्ने प्रश्न पनि गम्भीर चुनौती बनेर उभिएको छ।अझै
गम्भीर भएर एउटा प्रश्न गरौँ,
“Are we unknowingly glorifying self-killing”?
मानसिक स्वास्थ्यलाई बेवास्ता
नगरौँ
विश्व
स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार विश्वका हरेक चार जना मध्ये एक जनामा मानसिक स्वास्थ्य सम्बन्धी समस्या हुन्छ।यो तथ्याङ्क
क्रमशः बढिरहेको छ।सामाजिक प्राणी भनेर आफूलाई
चिनाउने मानिस बिस्तारै एक्लिन चाहेको देखिन्छ।अहिलेको
समयमा त झन् प्रविधिको बढ्दो प्रयोगले मानिस यान्त्रिक बन्दै गएको छ।विशेष गरी अहिलेका बालबालिकाहरूमा दया,माया,करुणा जस्ता सामान्य मानवीय व्यवहारहरू हराउँदै गएको देखिन्छ।विद्यालयको सन्दर्भमा हेर्दा
शरीरको हेरचाहका विषयमा हामीले बालबालिकाहरूलाई
पढाइरहेकै हुन्छौँ।व्यक्तिगत सरसफाइका विषय पनि पाठ्यक्रममा महत्त्वका साथ समेटिएका छन्।तर मानसिक स्वास्थ्यका विषयमा हाम्रो
पाठ्यक्रम मात्र होइन हामी शिक्षकहरू र हाम्रो सामाजिक चेत
अझै पनि बेवास्ता नै गर्नुपर्छ भन्ने दृष्टिकोणबाट
ग्रसित छ।सामुदायिक विद्यालयमा पढ्ने अधिकांश बालबालिकाहरूको परिवारमा साक्षरताकै अवस्था कमजोर छ भने परिवारबाट मानसिक
स्वास्थ्य सम्बन्धी परामर्श पाउने अपेक्षा गर्नै
परेन।हामी शिक्षकहरूले पनि बालबालिकाहरूलाई कक्षामा प्रवेश गरिसकेपछि बालबालिकाहरूले कस्तो महसुस गरिहरेका छन् भनेर कमैले सोध्ने
गरेका छौँ होला।बरु नतिजा राम्रो देखाउने नाममा यति
अङ्क त जसरी पनि ल्याउनु पर्छ भनेका छौँ होला।अभिभावकले
विद्यार्थीको नतिजालाई प्रतिष्ठाको विषय बनाएर अनावश्यक बोझ थपिदिएका पनि हुन सक्छन्।राम्रो गर्न खोज्दाखोज्दै हामीले
विद्यार्थीको मनोविज्ञान र
उनीहरूको मानसिक अवस्थाको
बारेमा बेवास्ता गर्दा थप समस्या निम्त्याइरहेका पो छौँ कि? हामी सबै जना सचेत हुन जरुरी छ।
अब के गर्न सकिएला त?
आजकल
शिक्षकहरू भन्छन्, “विद्यालयमा बालबालिकासँग बोल्न डर लाग्ने अवस्था छ।केही गलत पो बोलिन्छ कि भनेर
सचेत हुनुपर्ने अवस्था छ।
विद्यार्थीलाई केही भनूँ कतै
उसले अप्रिय निर्णय लिने त होइन?
नभनूँ विद्यार्थी बिग्रँदै छ”। यो त्रास शिक्षक वृत्तमा फैलिरहेको छ।अवस्था विकराल भए पनि यो सङ्कटबाट बाहिर निस्कनु त
पर्ने नै छ।अहिलेको अवस्थामा यो सङ्कटबाट बाहिर निस्किन एउटा व्यक्ति वा
संस्थाको प्रयासले मात्र सम्भव छैन।
अभिभावकले
के गर्न सक्नुहोला? हाम्रा अधिकांश अभिभावकहरू शिक्षित हुनुहुन्न तर अनुभवी हुनुहुन्छ।जीवनका अनेक
उतारचढाव भोगेर आउनुभएको छ।दुखमा संयम गुमाउनु
हुँदैन भनेर बुझ्नुभएको छ।बालबालिकालाई सम्झाउनु पर्ने यत्ति नै हो।अभिभावकले आफ्ना कथा सुनाउनु पर्छ।आफूले जीवनमा
आइपरेका बाधाहरू कसरी पार लगाइयो भनेर
बालबालिकाहरूलाई बुझाउन जरुरी छ।सबैभन्दा महत्त्वपूर्ण कुरा बालबालिकाहरूलाई सुनिदिन पर्ने छ।उनीहरू कस्तो महसुस गर्दै छन् भनेर
बुझ्नु पर्ने छ। अहिलेका
अवस्थामा सहानुभूतिपूर्ण भन्दा पनि समानुभूतिपूर्ण संवादको खाँचो छ।सुझबुझपूर्ण निर्णयको खाँचो
छ।त्यसैले बालबालिकासँग यथेष्ट संवाद गर्ने प्रयास गर्नुहोस्।समयअनुसारका परिवर्तनलाई आत्मसात् गर्नुहोस्।यति गरे मात्र पनि
बालबालिकाहरूलाई अप्रिय कदम चाल्नबाट रोक्न
सकिन्छ।
शिक्षकको
भूमिका के हुने भन्ने विषयमा अनेक तर्क हुन सक्छन्।दुखको कुरा नजानिँदो हिसाबले शिक्षकहरू आत्महत्या दुरुत्साहनको जोखिममा छौँ।तर हामीले यस्ता
अनेक जोखिम पार लगाएका छौँ।अहिलेको लागि हाम्रा आफ्नै
शैलीको लेखाजोखा गर्ने र समायानुकुल परिवर्तन गर्ने
बाहेक हामीसँग अर्को विकल्प नै छैन।समस्या छन् भनेर पेसा छोडेर भाग्न मिल्दैन/सकिँदैन।
हामी
शिक्षकले सबै कुरा जानेका हुँदैनौँ।विद्यार्थीले पनि सबै कुरा जान्दैनन्।नजान्नु स्वाभाविक कुरा हो।सञ्जय दत्तको बायो पिक
सञ्जु मा एक जना पात्र कमलेशले सुनिल दत्त (परेश रावल) लाई भन्छन्, “आफ्नो छोरालाई सम्झाउनुस् कि It is okay to be ordinary (साधारण देखिनुमा कुनै खराबी छैन)।हामीले
विद्यार्थीलाई नतिजाका लागि अनावश्यक दबाब दिनुको सट्टा उनीहरूको सिकाइमा ध्यान केन्द्रित गर्नु जरुरी छ।सिकाइ राम्रो भयो
भने नतिजाका विषयमा चिन्ता गर्नु पर्दैन।सबै विद्यार्थी
असाधारण क्षमता लिएर आएका हुँदैनन्।जो साधारण छन्
उनीहरूले साधारण भएकोमा हीनताबोध नगरुन्।जो पढाइमा अब्बल छन् उनीहरूले शैक्षिक
उपलब्धिलाई सब थोक नठानुन्।पढाइमा सफल विद्यार्थीले जीवनमा अनेक असफलता भोग्न सक्छ भनेर बेलैमा सचेत गराएन भने उसले अचानक आइपर्ने
असफलता पचाउन नसक्ने अवस्था आइपर्न सक्छ।
स्थानीय
सरकारहरूले शिक्षामा गर्न
सक्ने ठाउँहरू धेरै छन्।राम्रै
गरिरहेका पनि छन्।अहिलेको अवस्थामा पालिकाको नतिजा कति प्रतिशत आयो भन्ने हिसाबकिताब भन्दा बालबालिकाहरू कस्तो
मानसिकतामा छन् र शिक्षकहरूको मनोबल कस्तो छ भनेर बुझ्न तर्फ
ध्यान दिनु जरुरी छ।विद्यालयमा गएर विद्यार्थीका
समस्या सुन्ने र समाधान गर्ने प्रयत्न गर्न आवश्यक छ।मानसिक रूपमा स्वस्थ शिक्षण संस्था र समाजको निर्माण गर्नु
स्थानीय सरकारको दायित्व पनि हो।मनोसामाजिक परामर्शका नाममा एक
दिने तालिम वा कार्यशाला सञ्चालन गरेर अहिलेको समस्या समाधान हुँदैन।शिक्षक तथा विद्यार्थीसँग निरन्तर संवाद गर्ने संयन्त्र निर्माण
गरी विद्यालय र समाजसँग प्रत्यक्ष जोडिएका समस्याहरू
समाधान गर्न स्थानीय सरकारले तदारुकता देखाउनु जरुरी छ।
अन्तमा, कुनै पनि बालबालिकाले सामान्य विषयमा चित्त नबुझेर गलत बाटो रोज्नु र ज्यान गुमाउनु भनेको सिङ्गो समाजको असफलता हो।हामी
सबै मिलेर बालबालिकालाई "तिमी असफल भए पनि हामी
तिम्रो साथमा छौँ" भन्ने विश्वास दिलाउन सक्नुपर्छ।
जीवनको मूल्य बुझाउने शिक्षा आजको सबैभन्दा ठुलो आवश्यकता हो। नत्र हामीले हाम्रा मुनाहरूलाई फुल्न नपाउँदै
गुमाइरहनेछौँ।
(अस्वीकरणः म, शीर्षकमा उल्लेखित विषयको विज्ञ होइन।यो लेख मेरो व्यक्तिगत वेबसाइटमा प्रकाशनका लागि लेखिएकाले तथ्यगत तथा विषयगत कमजोरीहरू हुन सक्छन्)
सन्दर्भ सामग्रीहरूः
https://nagariknews.nagariknetwork.com/opinion/199728-1577855400.html
https://gorkhapatraonline.com/news/118546
https://www.who.int/news-room/fact-sheets/detail/suicide
.png)





